Bishwo Ghatana
Word News
१३ श्रावण २०७८, बुधबार

चीनमा बाढी आउँदा कम्तीमा १२ जनाको मृत्यु

0

मङ्गलवार चीनको व्यस्त सबवे अर्थात् भूमिगत रेल स्टेशनमा बाढी आएपछि हताश यात्रुहरूले भाग्ने प्रयास गरेका थिए। अन्य केहीलाई बाढीले बगाएर प्लेटफर्मभन्दा टाढा पुर्‍याइदियो।

रेलको एउटा खण्डमा पानी छिरेर मानिसहरूको घुँडाबाट कम्मर हुँदै पछि घाँटीसम्म पुग्यो। आत्तिएका यात्रुहरू सास फेर्न शरीरलाई माथि धकेलिरहेको देखियो भने कम उचाइका व्यक्तिहरूलाई अरूले बोकिरहेका थिए।

केहीले अत्यासलाग्दो स्थितिको भिडिओ खिचिरहेका थिए भने केहीले सहयोग गर्न भन्दै आफ्ना नजिकका मानिसहरूलाई सम्पर्क वा सामाजिक सञ्जालमा पोस्ट गरिरहेका थिए।

“म अब थप बोल्न सक्दिनँ,” एक महिलाले सामाजिक सञ्जाल वेबोमा लेखिन्। “बीस मिनेटभित्र उद्धार नभए सयौँको सङ्ख्यामा रहेका हामीले ज्यान गुमाउनेछौँ।” कैयौँ घण्टाको त्रास र अनिश्चिततापछि उद्धारकार्यमा खटिएको टोली रेलको छतबाट भित्र प्रवेश गर्न सफल भयो र मानिसहरूलाई बाहिर निकाल्न थाल्यो।

“हामीले छतमा रहेको सिसा अलिकति फुटायौँ। त्यसपछि अचानक त्यहाँ हावा आयो,” नाम नखुलाइएकी एक महिलाले सरकारी प्रसारक सीसीटीभीलाई भनिन्।

जङ्जो सहरमा क्रमिक रूपमा सयौँ मानिसहरूलाई बाढीका कारण डुबेको सबवेबाट बचाउन उद्धारकर्ताहरू सफल भए।
खनान प्रान्तस्थित येलो रिभरको किनारमा रहेको उक्त सहरमा एक करोड २० लाख मानिसहरू बसोबास गर्छन्। यो बाढीमा कम्तीमा १२ जनाको मृत्यु भएको र पाँच जना घाइते भएको बताइएको छ।

Leave A Reply

Your email address will not be published.