Bishwo Ghatana
Word News
९ आश्विन २०७८, शनिबार

एनआरएन बेल्जियमको चुनाव बिथोलियो, मतपेटिका तोडफोड

0

एनआरएनए बेल्जियमको एघारौँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिन झन्डै आधा घण्टा बाँकी रहँदा निर्वाचन बिथोलिएको हो । नेपाली समुदायभन्दा बाहिरका करीब पाँच जना युवाहरु सिधैं मतपेटिका तोडफोड गरेको नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष ओम शर्माले बताए।

घटनाका प्रत्यक्षदर्शी समेत रहेका पत्रकार शर्माले भने, ‘छेउको ढोकाबाट अचानक ४/५ जना युवाहरु सिधैं मतपेटिकातर्फ अघि बढे । त्यहाँ तरल पदार्थ के हाले । पानी वा केही हाले । कसैले मतपेटिका तोड्न शुरु गरे । मतपत्रहरु भुईँमा छताछुल्ल भयो। तबमात्र हामीलाई अब के हुँदैछ भन्ने थाहा भयो। बल्ल हामी एए भनेर उठ्न थाल्यौ।’

मतदाताहरु आउने मुख्य ढोकालाई प्रयोग नहुनु साथै छेउको ढोका खुल्ला राख्नु लापरबाही भएको भन्दै पत्रकार शर्माले शंकास्पद गतिविधि देखिएको बताए। शर्माले भने, ‘मतदान केन्द्रमा रहेको एक पक्ष मतपत्र बचाउनतर्फ लाग्यो अर्को पक्ष मतपत्र च्यात्नतर्फ लाग्यो। प्रत्यक्ष हेर्दा त्यहाँ यही दृश्य देखिन्थ्यो। निर्वाचन बिथोल्न र आक्रमणको लागि ती युवाहरुलाई प्रयोग गरिएको भन्नेमा कुनै शंका नै छैन।’

मतदान केन्द्रमा रहेका अधिकांश नेपालीहरु युवाहरु सो आक्रमणको प्रतीकारमा उत्रिएका थिए । पत्रकार शर्माका अनुसार सो क्रममा दुई जना नेपाली घाइते भएका छन् । कोषाध्यक्ष पदका उम्मेदवार पुष्प नेपाल र एनआरएनए बेल्जियमकी पूर्वउपाध्यक्ष शारदा अर्याललाई चोट लागेको हो। उनीहरुलाई उपाचारका लागि एम्बुलेन्समार्फत अस्पताल पुर्‍याइए पनि २-३ घण्टापछि घर फर्किएका थिए।

आक्रमणकारीहरुको पहिचान खोजी गर्न बेल्जियमको प्रहरी प्रशासन समक्ष उक्त घटनाको तथ्य प्रमाण र भिडियो फुटेजहरु बुझाइ सकिएको निर्वाचन समितिले जनाएको छ। ‘प्रहरी प्रशासनको प्रारम्भिक अनुसन्धानमै आक्रमणकारीहरुको पहिचान खुलिसकेको छ । र, श्रोत संचालक खोजीको लागि प्रहरी प्रशासनले थप समय मागेको जानकारी यहाँहरुलाई गराउन चाहन्छौं ।’ समितिले विज्ञप्तिमार्फत भनेको छ ।

आक्रमणकारीहरुको पहिचान र उक्त घोर निन्दनीय घटनालाई संचालन गर्ने श्रोतसम्म पहिचान गरी कानूनी उपचारतर्फ जाने निर्वाचन समिति दृढ निर्णय र संकल्प रहेको समितिले जनाएको छ।

Leave A Reply

Your email address will not be published.