Bishwo Ghatana
Word News
९ आश्विन २०७८, शनिबार

उत्तर र दक्षिणबीच सोझै सञ्चार गर्न एक वर्षपछि फेरि ‘हटलाइन’ सुरु

0

उत्तर तथा दक्षिण कोरियाले दुई देशबीच उच्च राजनीतिक तहमा आपसी कुराकानी गर्ने सोझो टेलिफोन सम्पर्क ‘हटलाइन’ फेरि सुरु गरेका छन्। प्योङ्याङले गत वर्ष जुनमा उक्त हटलाइन काटिदिएको थियो।

सोलस्थित राष्ट्रपति कार्यालयले जनाएअनुसार दुई देशका शीर्ष नेताबीच विश्वास बनाउने र सम्बन्ध सुधार गर्ने विषयमा सहमति भएको छ।

ब्लू हाउसका अनुसार उत्तर कोरियाली र दक्षिण कोरियाली नेताबीच एप्रिल महिनादेखि धेरै पटक व्यक्तिगत पत्र आदानप्रदान भएको छ।

दुई देशबीचको उच्चस्तरीय वार्ता असफल भएपछि सम्बन्ध बिग्रिएको बेला उत्तर कोरियाले उक्त फोन काटिदिएको थियो।
त्यसपछि उत्तर कोरियाले दुई देशबीच सञ्चार गर्न सघाउने उद्देश्यले सीमामा निर्मित एउटा कार्यालय पनि ध्वस्त पारिदिएको थियो।
उत्तर कोरियाको सरकारी समाचारसंस्था केसीएनएका अनुसार शीर्ष नेताहरूले “आपसी विश्वास पुनः स्थापित गर्न तथा मेलमिलापलाई प्रवर्धन गर्न ठूलो पाइला चाल्ने” सहमति गरेका छन्।

“दुई देशका शीर्ष नेताबीच भएको सहमतिअनुसार उत्तर र दक्षिणले जुलाई २७ को १० बजेदेखि अन्तर-कोरियाली सञ्चार सम्पर्क लाइन पुनः सञ्चालन गर्न आवश्यक उपाय गरेका छन्,” उसले भनेको छ।

दुवै देशका प्रतिनिधिहरूले फोनमा तीन मिनेट कुरा गरेको दक्षिण कोरियाको एकीकरण मन्त्रालयले जनाएको छ।
उसका अनुसार अर्को फोन मङ्गलवार दिउँसो अनि प्रत्येक दिन गरिनेछ।

Leave A Reply

Your email address will not be published.